दलको नभएर स्वतन्त्र रूपमा राष्ट्रकाे झन्डा बाेक्न नागरिकलाई आह्वान
बुटवल,१८ भदौ ।
“समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान” नेपालकाे महाकाली- मेची यात्रामा निस्केको युवाहरूको टोलीले बुधबार बुटवलमा काेणसभा सम्पन्न गरेको छ ।
मंगलबार महाकालीको गड्डाचाैकीबाट सुरु भएको महाकाली- मेची यात्रामा सहभागी टोलीले बुधबार दिउँसो बुटवलको बसपार्कमा काेणसभा सम्पन्न गरेको हो ।
काेणसभामा अभियानका प्रवक्ता धनबहादुर बाेगटी,सदस्य गणेश शाहलगायतले मुलुकमा पटकपटक ब्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न युवाहरू स्वतन्त्र रूपमा एकजुट हुनुपर्नेमा जाेड दिए ।
नेपालका ९५ प्रतिशत जनता कुनै न कुनै दलमा जाेडिएकाे र राजनीतिक दलहरूले जनतालाई स्वतन्त्र नागरिकको रूपमा नभएर आफ्नो कार्यकर्ताका रूपमा ब्यवहार गर्ने गरेका कारण मुलुक समृद्ध बन्न नसकेको भन्दै उनिहरूले जनतालाई पार्टीको झन्डा छाडेर देशको झण्डा बाेक्न प्रेरित गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको बताए ।
अभियानका संयोजक प्रेमराज भट्टले बिखण्डित बैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने नयाँ पुस्तालाई नेतृत्वका लागि अघि सार्ने र आम नागरिकलाई स्वतन्त्र बन्न प्रेरित गर्ने उदेश्यले स्वतन्त्रकाे एकता “महाकाली-मेची यात्रा” भन्ने नाराका साथ यात्रामा निस्किएको जानकारी जानकारी दिए ।
बिद्यमान राजनीतिक दल र तीनका नेताहरूबाट मुलुककाे विकास र समृद्धि सम्भव नभएको भन्दै उनलेे युवाहरूले अब पार्टीको नभएर स्वतन्त्र रूपमा देशको झन्डा बाेक्नुपर्छ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको बताए ।
युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने नागरिकलाई स्वतन्त्र बन्न प्रेरित गर्ने,परिवर्तनकारी साेच राख्ने युवाहरू तथा समुहबीच एकता गराई नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने अभियानकाे लक्ष रहेको संयोजक भट्टले बताए ।
यात्राको मंगलबार महाकालीको गड्डाचाैकीका सुदुरपश्चिमका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा प्रसाद जाेशीले उद्घाटन गरेका थिए ।
महाकालीको गड्डाचाैकीबाट सुरु भएको यात्रा झापासम्म पुग्ने र यही भदौ २१ गते धरानमा समापन गर्ने कार्यक्रम रहेको अभियानले जनाएको छ ।






