नवलपरासी,१८ भदौ ।
नवलपरासी पूर्वको देवचुलीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका-१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
मृत्यु हुनेमा कन्टेनर चालक नवलपरासीकै सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय माधव पंगेनी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
दुर्घटनामा कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका ७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरीको बर्दिवास नगरपालिका-११ का ३० वर्षीय बिच बहादुर थिङ घाइते भएका छन् ।
उनीहरुको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना.२ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्र- २-०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






