कपिलवस्तु,१० भदौ ।
कपिलवस्तु जिल्लाकाे तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत कपिलवस्तु नगरपालिका-३, को रामघाट नदीमा डुबेर सोमबार साँझदेखि बेपत्ता बालकको शव मंगलबार बिहान फेला परेको छ ।

शव फेला पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं ३, डेरवाका १४ वर्षीय मोहन चौहान रहेका छन् ।

सोमबार साँझ भैंसी चराएर फर्किरहेका बेला नदीमा डुबेर बेपत्ता भएका चाैहान रामघाट पुलको पूर्वपट्टि हनुमान मूर्तिको प्रतिमा नजिकै नदीभित्रै पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता,प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

बालक बेपत्ता भएको सूचना पाउनासाथ नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका ११ जनाकाे टोली र स्थानीयले साेमबार राति ८ बजेसम्म खोजतलास गरेका थिए । राति ८ बजेसम्म खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि मंगलबार बिहान पुनः खाेजतलास गर्ने क्रममा शव फेला परेको हो ।

शव पोस्टमार्टमकालागि कपिलवस्तु अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।