बुटवल,९ भदौ ।
रुपन्देही अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा निवेदन दिएका छन् ।
सहकारी ठगी मुद्दा पुर्पक्षाका लागी थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि सोमबार उच्च अदालतमा निवेदन दिएका हुन् ।
उनको निवेदनमा आगामी बुधबार (११ भदौ) का लागि पहिलो पेसी तोकिएको छ ।
यसअघि उनले आफ्नो भागको बिगोबराबर धरौटी दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमा गत साउन २६ गते सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले धरौटीमा छाड्न अस्वीकार गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामुहिक बिगो कागम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भाग मध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पनि पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए ।
जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।
यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रपैयाँ धरौटीमा रिहा गरे पनि उच्च अदालत र सर्वोच्च अदालतबाट समेत थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो ।
तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्नू भनी जिल्लाले आदेश गरेको थियो ।
जिल्लाले थुनामुक्त गर्न अस्वीकार गरेको केही दिनमै उनलाई कारागार सरुवा गरिएको छ । त्यसअघि भैरहवा कारागारमा रहेका उनलाई ललितपुरको नक्खू कारागार सरुवा गरिएको छ । दुई सातादेखि लामिछाने नक्खु कारागारमा छन् ।
उनले कारागार सरुवाको निवेदन दिएको दुई महिनापछि कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय गरेको थियो ।






