बुटवल,२७ साउन ।
बुटवल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ) सम्बन्धि तालिम प्रदान गरेको छ । परम्परागत रूपमा व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको संघले जनाएको छ ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसंगै व्यापार व्यवसायलाई समयसापेक्ष रुपमा लैजान आवश्यक देखिएको भन्दै त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताए । सूचना प्रविधिमा आधारित यो तालिम नितान्त प्राविधिक भएकाले तालिममा सिकेका कुरालाई व्यवहारिक रूपमा कार्यान्वयन गरेर लाभ लिन व्यवसायीहरूलाई सुझाव दिए ।
तालिममा नेपाल फिलिलि टेक प्रा.लि. काठमाण्डौका संस्थापक प्रमुख कार्यकारी अधिकृत जेसिस कोइरालाले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता (एआई)को प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारीक पक्षहरुका बारेमा प्रकाश पारेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
उनले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता लगायतका विषयमा इच्छुक उद्योगी व्यवसायीलाई निल्शुल्क अनलाईन तालिम प्रदान गरिने बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले संघले उद्योगी व्यवसायीका लागि विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गरिने बताए ।
तालिममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा बस्तुगत समितिका सभापति, उपसभापति लगायत करिव ७० जनाको सहभागिता रहेको संघले जनाएको छ ।






