बुटवल,२७ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही ३ काे उम्मेदवार बन्न आकांक्षा राखेका ९ जना आकांक्षीले आफूले टिकट नपाए पनि बागी नउठ्ने र आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।
उम्मेदवारका आकांक्षीहरू बीच रास्वपाले आइतबार र साेमबार आपसी छलफल गराएको थियो । उक्त छलफलबाट सर्वसम्मत उम्मेदवार खोज्ने प्रयास सफल नभए पनि उम्मेदवारका आकांक्षीहरुले आफूले टिकट नपाए पनि बागी नउठ्ने र आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।
साउन २७ देखि भदौ ११ गतेसम्म आकांक्षीहरुको विभिन्न मापदण्डमा परीक्षण गरिने रास्वपा लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ का लागि उम्मेदवार छान्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ । आवेदन दिएका ९ जना नै प्राइमरी इलेक्सनमा प्रतिस्पर्धा गर्ने छन् ।
रुपन्देही ३ भित्र मतदाता परिचयपत्र भएर पार्टीको विभिन्न समितिमा रहेकाहरु तथा केन्द्रीय सदस्यहरुले भोट हाल्न सक्ने रास्वपा लुम्बिनी इन्चार्ज आचार्यले बताए ।
प्राइमरी इलेक्सनमा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थबेन्द्र उपाध्याय, ज्ञानु पौडेल, रचना क्षेत्री, सुलभ खरेल, पुनम कुमारी अग्रवाल र जितबहादुर गुप्ताले प्रतिस्पर्धा गर्ने छन् ।






