रवि बसेको कोठाको झ्याल बन्द र बाहिर हिडडुल गर्न नपाएको गुनासो प्रति आयोगको ध्यानाकर्षण
बुटवल,२६ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज (सोमबार) भैरहवा कारागारको स्थलगत अनुगमन गरेको छ ।
सहकारी ठगी मुद्धा पुर्पक्षका लागी हाल रुपन्देहीस्थित भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कारागारमा मौलिक अधिकारसमेत हनन् भएको भन्नेबारे सार्वजनिक सञ्चारमाध्यममा समाचारहरू सार्वजनिक भएपछि आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार भैरहवा कारागार निरीक्षण गरेको हो ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पत्रपत्रिका पढ्न नपाएको, रवि लामिछाने बसेको कोठाको झ्याल पूर्णरुपमा बन्द गरिएको पाइएको जानकारी गराइन् ।
कैदीबन्दी राखेपछि उसको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने भन्दै उनले हावा नजाने कोठामा राख्न नहुने बताईन् । बाहिर आएर स्वच्छ हावा लिन पाउने, पत्रपत्रिका पढ्न पाउने अधिकार भए पनि त्यो नपाएको लामिछानेको गुनासो रहेको जानकारी दिइन् । लामिछानेले कोठाबाहिर हिँडडुल गर्न नपाएको र अदालतले अनुमति दिएको विषयमा स्थानान्तरण नभएकोबारे मानव अधिकार आयोगको ध्यानाकर्षण भएको पनि उनलेे बताइन् ।
सुरक्षाका कारण लामिछाने बसेको कोठाको झ्याल बन्द गरिएको कारागार प्रमुखले जानकारी गराएको भन्दै उनले आयोगको ध्यानाकर्षणपछि बन्द झ्याल खोलिदिने बताएको जानकारी दिइन् ।
यी सबै कमजोरी हुनुमा सरकार दोषी भएको बताउँदै आयुक्त थापाले पर्याप्त संरचना नहुनु, कारागार व्यवस्था विभागले बनाएको नियम पालना नभएको बताइन् ।






