बुटवल,२५ साउन ।
जनमत पार्टीले लुम्बिनी प्रदेश सभा सदस्यमा निलम पासवानलाई पठाउने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँमा पार्टीले अर्को समानुपातिक प्रदेश सभा सदस्य चयन गर्न लागेको हो ।

गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ ।

गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक प्रदेश सभा सदस्य भएकी थिइन् । उनको नाम बन्द सूचीको दोस्रो नम्बरमा थियो । उनले राजीनामा दिइसकेपछि आदिवासी जनजाति कोटामा पुरुषतर्फ राजनकुमार श्रेष्ठ प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् ।

सूची अनुसार श्रेष्ठकाे नाम पठाउनुपर्ने भए पनि पछिल्लो समय उनि पार्टीको सम्पर्कमा नआएका कारण निलम पासवानको नाम पठाउन लागिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

निलम पासवानको दलित कोटाको बन्दसूची क्रमसंख्या ४ नम्बरमा नाम छ । जनमत पार्टीले आदिवासी जनजातिको कोटामा दलित कोटाको नाम पठाउन लागेको हो ।

सो पार्टीको लुम्बिनी प्रदेश सभा सदस्यकाे समानुपातिक सूचीको आदिवासी जनजाति कोटामा दुई जनाको नाम रहेको छ । त्यसमध्ये गुरुङले राजीनामा दिइसकेकी छन् भने श्रेष्ठ सम्पर्कमा छैनन् । दलित कोटा पनि एक पुरुष र एक महिला गरी दुई जनाको नाममा रहेको बताइएको छ ।

निलम मधेस प्रदेश सिरहाकी हुन् तर उनी लुम्बिनी प्रदेशमा बसाइ सराइ गरिसकेको पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष डा.सिके राउत देश बाहिर रहेकोले उनी स्वदेश फर्केपछि अर्को हप्तातिर निर्वाचन आयोगमा निलमको नाम सिफारिस गर्ने तयारी छ ।

आफ्नो व्यस्तताको कारण देखाउँदै गीता गुरुङले प्रदेश सभा सदस्यबाट वैशाख ३० गते राजीनामा दिएकी थिइन् ।