नवलपरासी,२५ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्व क्रान्तिकारी युवा संघ नेपालले नवलपरासीमा जिल्ला भेला तयारी गरेको छ ।

सो क्रममा आइतबार संघको जिल्ला कार्यालयको बैठक सम्पन्न गरेर कार्य बिभाजन समेत गरिएको केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।

‘यहि साउन २८ गते जिल्ला भेला हुदैछ, तयारीका लागि कार्यबिभाजन गरिएको छ- न्यौपानेले भने- ‘प्रतिनिधिमुलक जिल्ला भेलाबाट सम्मेलन आयोजक समिति गठन गर्नेछौ ।’

क्रान्तिकारी युवा संघका जिल्ला संयोजक राम प्रसाद अर्गेजाले युवा आन्दोलनलाई सहि दिशा प्रदान गर्न भेलाले पहल लिने र भ्रष्टाचार बिरोधी अभियानमा सचेत युवा जोड्न भेला सफल हुने विश्वास ब्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवं बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयले युवा आन्दोलन संसदवादमा फसेको उल्लेख गर्दै जनगणतन्त्रको स्थापना विना युवा पलायनता रोक्न नसकिने भएको हुँदा सचेत युवाहरुले क्रान्तिकारी युवा आन्दोलनको नेतृत्व गर्नु पर्नेमा जोड दिए ।

क्रान्तिकारी युवा संघले बिगत बर्षहरुदेखि भ्रष्टाचारीलाई जनकारबाहीको अभियान संचालन गर्दै संघलाई स्थापित गर्दै आएको छ । क्रान्तिकारी युवा लिग, अखिल नेपाल जनवादी युवक संघ र क्रान्तिकारी युवा संगठन बीचको एकता पछि क्रान्तिकारी युवा संघ नेपाल बनेको हो ।