बुटवल,२३ साउन ।
राजनीतिक दलहरूको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ प्रति पाल्पामा क्रियाशील राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
पाल्पामा क्रियाशील बिपक्षी दल नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्र बि क,राष्ट्रिय स्वतन्त्र पार्टी सहसंयोजक सुमन गैरे,नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोक कुमार शाही,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुवँर,राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामी,
राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि होमबहादुर थापाद्वारा शुक्रबार संयुक्त विज्ञप्ति रूपमा जारी गरि निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ प्रति आपत्ति जनाएका हुन् ।
राजनीतिक दलहरूको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ प्रति आफुहरूकाे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा साे कार्यविधि मस्यौदा स्वीकार्य नहुने जनाइएको छ ।
प्रस्तावित मस्यौदा संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत रहेको दाबी गर्दै ती दलहरूले प्रत्यायोजित विधायनको नाममा अलग कानुन मस्यौदा तयार गरेर संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने र राजनीतिक दललाई नियन्त्रण गर्ने प्रयास प्रति असहमति तथा विरोध रहेको जनाएका छन् ।
बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुर्याउँदै दलहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप गर्दै सत्तारुढ दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने अधिनायकवाद उन्मुख यो प्रवृत्ति अस्वीकार्य रहेको जनाउँदै विज्ञप्तिमा मस्यौदालाई अघि बढाउने कार्य तुरून्त रोक्न र संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न निर्वाचन आयोगलाई सचेत गराइएको छ ।







