बुटवल,२२ साउन ।
रुपन्देही-३ मा हुने उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् ।

रास्वपाले बिहीबार फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।

उम्मेदवारका लागि आवेदन दिनेमा सुलव खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

महर्जनबाहेक सबै रुपन्देहीकै बासिन्दा भएको बताइएको छ ।
यसअघि रास्वपाले आगामी कार्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य पदकाे उम्मेदवार बन्न इक्षुक भएकालाई दर्खास्त आह्वान गरेको थियो ।

भोलि बिहान १० बजेदेखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सहमहामन्त्री एवं रुपन्देही-३ का चुनावी कमाण्डर विपिन आचार्यले जानकारी दिए ।

यसका लागि रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुपर्ने छ । साउन २६ गते प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित गरिने साे पार्टीले जनाएको छ ।

त्यस्तै रास्वपाले आवेदन दिएकाहरूमध्यबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ । जसको अंकभार ५० प्रतिशत हुनेछ ।

आगामी भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही-३ का रास्वपा पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउने आचार्यले बताए ।

प्रारम्भिक निर्वाचनबाट पाउने ५० प्रतिशत अंकभारलाई सय प्रतिशत मानेर चुनाव हुँदा रुपन्देही-३ मा रास्वपा सदस्यको मतभार ८० प्रतिशत र त्यही क्षेत्रमा रास्वपाको समितिमा रहेका सदस्यको अंकभार १० प्रतिशत हुनेछ ।

त्यस्तै केन्द्रीय सदस्यको १० प्रतिशत हुनेछ ।

प्रारम्भिक निर्वाचनबाट प्राप्त अंक र पार्टीले गर्ने निर्णयबाट उम्मेदवार तय गरिने रास्वपाले जनाएको छ ।