बुटवल,२२ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी दलित मोर्चा नेपाल पाँच नम्बर ब्युरोले रुपन्देहीको सैनामैना स्थित पर्रोहामा एक कार्यक्रमकाबीच जागरण अभियान सुरु गरेको छ ।

कार्यक्रममा मोर्चाका केन्द्रीय कार्यालय सदस्य समेत रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी जितामित्र सुनारले दक्षिण एशियामा मनुस्मृतिको जगमा दलितहरु माथि उत्पीडन भइरहेको ईतिहास माथि चर्चा गर्दै जातीय मुक्तिका लागि सबै प्रकारको संर्घष गर्नुपर्ने र कानुनी पाटोको संर्घषलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा रुपन्देहीका सेक्रेटरी लक्ष्मीकान्त पौडेलले बर्गीय मुक्ति विना जातीय मुक्ति सम्भव नभएको बताउदै दलित आन्दोलन दलित समुदायको मात्र नभई गैरदलितहरुको समेत सवाल रहेको धारणा राखे ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासीका सेक्रेटरी रवि पाण्डेयले करिब ३९ लाख दलितहरु माथि जातीय उत्पीडन मात्र नभई वर्गीय उत्पीडन समेत रहेको चर्चा गर्दै बिद्रोहको आधारभुमि तयार गर्न दलित अगुवाहरु लाग्नुपर्ने बताए । उनले दलित नेताहरुले आफूलाई मुक्ति योद्धाका रुपमा विकास गर्दै गाउँबस्तीमा पुगेर क्रान्तिकारी दलित आन्दोलनको उठान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघका दयाराम खनाल, क्रान्तिकारी महिला संगठनकी माया नेपाली, क्रान्तिकारी दलित मोर्चा नेपालका केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सोमबहादुर विश्वकर्मा, सल्लाहकार शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी युवा संघका रामु अर्याललगायतले मन्तब्य राखेका थिए ।

ब्युरो संयोजक पुर्णबिक्रम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजेन्द्र नेपाली,गोपाल नेपालीलगायतले सहजिकरण गरेका थिए । कार्यक्रम पछि मोर्चाको बैठकले जिल्ला भेलाकाे मिति तय गर्नुका साथ बिभिन्न कार्यक्रमहरु बारे निर्णय गरेको पार्टीले जनाएको छ ।