बुटवल,१९ साउन ।
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक महिला शेयरधनीहरूले दशौं साधारण सभाले गरेका केही निर्णयहरू पुनरावलोकन गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष निवेदन दिएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाल र संचालक समितिमाथि पारदर्शिताकाे अभाव तथा प्रक्रियागत कमजोरी देखिएको उनीहरूकाे गुनासो छ ।
असार २८ गते भएको साधारण सभामा संस्थापक सदस्यहरूलाई जानकारी नदिइएको, सभास्थल पटक–पटक परिवर्तन गरिएको र केही महिलालाई सभामा सहभागी हुन कठिनाइ भएको शेयरधनी महिलाहरूकाे गुनासो छ । साधारण सभा बारे पुर्व जानकारी नदिएको र सहभागी हुन नपाएको भन्दै उनिहरूले आपत्ति जनाए ।
गभर्नर डा.विश्वनाथ पौडेललाई बुझाइएको ज्ञापनपत्रमा सर्लाहीस्थित समाज लघुवित्तसँगको प्रस्तावित मर्जरबारे थप अध्ययन र समुचित निर्णय आवश्यक भएको उल्लेख गरिएको छ ।
पूर्व सञ्चालक तथा संस्थापक सदस्य जमुना ढकालले संस्थाको मर्जर प्रक्रिया समान हैसियतको संस्थासँग पारदर्शी रूपमा गर्नुपर्नेमा जोड दिँदै हालको प्रक्रिया शंकास्पद रहेको उल्लेख गरिन् । संस्थालाई मजबुत बनाउने उद्देश्यले अघि बढ्नुपर्नेमा व्यक्तिगत स्वार्थका आधारमा निर्णयहरू भइरहेको आशंका गरिन् ।
संस्थापक शेयरधनी मिना भट्टराईले संस्थाले महिलाको सहभागिता घटाउँदै आएको र आर्थिक रूपमा दवाब सिर्जना हुने खालका निर्णयहरू गरिनु संस्थाको दीर्घकालीन हितमा नहुने बताइन् ।
पुनम लिगललगायत अन्य शेयरधनी महिलाहरूले सुरक्षाका नाममा सभामा अनावश्यक कडाइ गरिएको, पास बिना सहभागी हुन नदिइएको र संस्थाकाे हित विपरीत गतिविधिहरू भइरहेको भन्दै छानबिनको माग गरेका छन् । साथै, हालै गरिएको कर्मचारी नियुक्ति, सवारी साधन खरिद र अन्य आर्थिक निर्णयहरूप्रति पनि प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गभर्नर पौडेलले उठाइएको विषयमा आवश्यक छानबिन गरिने आश्वासन दिएको उनिहरूले बताए । आफुहरूका माग सम्बोधन नभए आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने संस्थापक महिलाहरूले चेतावनी समेत दिएका छन् ।






