बुटवल,१८ साउन ।
रूपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

मृत्यु हुनेमा रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ७ गर्गटीका ६० वर्षीय राम मिलन धवल रहेका छन् ।
मृतक धवलका ३० वर्षीय छोरा विनोद धवलले चलाएको मोटरसाइकलको पछाडि सवार राम मिलनको उपचारको क्रममा मृत्यु भएको हो ।

विनोदले चलाएको मोटरसाइकल सडकमा अनियन्त्रित भई आफै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते भएका दुबै जनालाई उपचारको लागि अस्पताल पु¥याए पनि राम मिलनको उपचारको क्रममा मृत्यु भएको हो । घाइते विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।