दाङ,१५ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना किशोरकाे मृत्यु भएको छ ।

जिल्लाकाे घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको मृत्युु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

तुलसीपुरबाट बिजौरीतर्फ जादै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्र्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो । ट्र्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।