भैरहवा,१४ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाे मुद्दा सदनदेखि सडकसम्म थप ससक्त रूपमा उठाउने निर्णय गरेको छ ।
बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकमा संसद्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सदनदेखि सडकसम्म सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।
बैठकमा चालु बजेट अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिएको प्रमुख सचेत सन्तोष परियारले जानकारी दिए ।
पार्टीले गरेको आन्दोलनका कारण जनताका मुद्दा रास्वपाले छाडेन भन्ने जनताले अनुभूति गरेको उनको दाबी छ ।
संख्याका आधारमा दम्भ देखाउने सत्ताधारीसँग रास्वपाले सम्झौता गरेन भन्ने नागरिकबाट सन्देश पाएकाे भन्दै उनले त्यसलाई कायम राख्दै संवादको ढोका पनि खुला राखेर संसद्मा जारी भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय गरेकाे बताए ।
गर्न नहुने कामका लागि संसदमा संख्या मात्रै ठूलो कुरा होइन भन्ने पार्टीको ठम्याइ रहेको बताउदै उनले रास्वपाले उठाएका गम्भीर मुद्दामा कांग्रेस, एमाले र माओवादी पनि एकमत हुने विश्वास ब्यक्त गरे । मुलुकमा संगठित अपराध मौलाएको भन्दै उनलेे त्यसको रास्वपाले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको बताए ।






