भैरहवा,१४ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा शुरु भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक आज दिउँसो १ बजेदेखि भैरहवाको रमादा होटलमा शुरु भएको हो ।
वैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन र आगामी निर्वाचन रणनीतिबारे छलफल भैरहेको छ ।
आगामी कार्तिकमा रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन हुन लागेको र पार्टी सभापति भैरहवा कारागारमा रहेको अवस्थामा पार्टीको संसदीय दलको बैठक भैरहवामा बस्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यद्यपि साे पार्टीले भने फरकफरक प्रदेशमा पार्टीको बैठक बस्ने नीति अनुसार अहिले भैरहवामा संसदीय दलको बैठक बस्न लागेको जनाएको छ ।
बैठक अघि रास्वपाका सांसदहरुले सहकारी ठगी मुद्दाको पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजेपनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ ।






