बुटवल,११ साउन ।
लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ । पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले जनाएको छ ।
प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला लाेसपाले एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको थियो ।
तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता हुन् ।
११ सदस्यीय मन्त्रिमण्डल रहेको लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए ।
वर्तमान मन्त्रिमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना, कांग्रेसबाट ५ जना र जसपाबाट एकजना मन्त्री थिए ।






