प्रकाश खनाल
बुटवल,१० साउन ।
सुचना प्रविधिको क्षेत्रमा भइरहेको तिब्र बिकाससँगै पछिल्लो समय सामाजिक सञ्जालकाे प्रयोग बढ्दो छ ।

सामाजिक सञ्जालहरूमा आउने नकारात्मक सामाग्री,असहिष्णुता,अस्लिलता,अराजकता एवं नकारात्मक टिकाटिप्पणीका कारण सामाजिक सञ्जालप्रतिकाे दृष्टिकाेण नकारात्मकतातर्फ उन्मुख भइरहेका बेला कतिपयले भने सामाजिक सञ्जालकाे सदुपयोग गरि राम्रो आम्दानी गर्न सफल भएका छन् ।
हरेक कुराकाे सकारात्मक र नकारात्मक दुवै पाटाे हुन्छननै । नकारात्मक साेच राख्नेहरू नकारात्मक कुरा तर्फ बढी आकर्षित हुन्छन भने सकारात्मक साेच राख्नेहरू सकारात्मक कुराहरूकाे खाेजिमा हुन्छन् ।
यस्तै सकारात्मक साेच राख्ने बुटवल उपमहानगरपालिका वडा नं -३ ज्याेतिनगर निवासी सुनिता गुरूङ सामाजिक सञ्जालकाे सदुपयोग गरि आफ्नो ब्यापार ब्यवसाय फस्टाउन सफल भएकी छिन् ।
बुटवल उपमहानगरपालिकाकाे सहयोगमा बुटवल वडा नं ३ वडा कार्यालयले प्रदान गरेको जुत्ता चप्पल बनाउने एक हप्ताको तालिम लिएकी गुरूङले आफुले उत्पादन गरेका सामाग्रीकाे बिक्रीवितरण तथा बजार बिस्तारमा सामाजिक सञ्जालकाे उपयोग गरेर लाभ लिन सफल भएकी हुन् ।
आफुले उत्पादन गरेका सामाग्रीहरूकाे प्रचारप्रसार तथा बिक्रीवितरणमा टिकटक,फेसबुक,इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल राम्रो माध्यम भएको उनको अनुभव छ ।
उत्पादित सामाग्रीहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुका साथै धेरैजसो अर्डर र बिक्रीवितरण समेत सामाजिक सञ्जाल तथा अनलाइन प्रणालीबाटै हुनेगरेकाे गुरूङले जानकारी दिइन् ।
उत्पादन गरेका सामाग्रीकाे प्रचारप्रसार र बिक्रीवितरण गर्ने माध्यम मात्रै नभएर सामाजिक सञ्जालकै माध्यमबाट स्वदेश तथा बिदेशबाट समेत आफुसँग सीप सिक्न आउने गरेका कारण आम्दानीको थप स्रोत बढेको छ ।
घरधन्दाकाे काम सकेर फुर्सदको समयमा घरमै बसी जुत्ता चप्पल बनाएर राम्रो आयआर्जन गर्न सफल भएकी उनलेे आफू जस्तै जागर भएका अन्य गृहिणी महिलाहरूलाई तालिम दिएर थप आयआर्जन गरेकी छिन् ।
फुर्सदको समयमा माेबाइल चलाएर बस्ने र साथीहरूसँग गफ गरेर समय बिताउनुकाे सट्टा जुत्ता चप्पल बनाएर आफ्नो सामान्य खर्च चलाउने साेँचका साथ एक हप्ते तालिम लिएकी उनकाे उद्योगमा सीप सिक्न देशका विभिन्न ठाउँका साथै सिंगापुरबाट समेत आउने गरेको गुरूङले जानकारी दिइन् ।
भारतको सिक्किम घर भई बिगत १२ बर्षदेखि सिंगापुरमा बस्दै आएकी कृष्ण सुब्बासहित नेपालकै धनगढीकि सञ्जिता रानामगर,कपिलवस्तु चन्द्राैटाकी जुली चाैधरीलगायतले अहिले उनको उद्योगमा तालिम लिइरहेका छन् ।
सामाजिक सञ्जाल तथा साेसल मिडिया मार्फत जानकारी लिएर आफुहरू तालिम लिन आएको उनिहरूकाे भनाइ छ ।
सिंगापुरमा पाल्पाली ढाका पसल सञ्चालन गर्दै आएकी २७ बर्षिया सुब्बा सिंगापुरमै ढाका उद्योग र महिलाहरूका लागि जुत्ता चप्पल उद्योग समेत बिस्तार गर्ने योजनाका साथ तालिम लिन बुटवल आएको बताइन् ।
नेपाली कला संस्कृतिसँग सम्बन्धित सामाग्रीहरूकाे सिंगापुरमा राम्रो बजार रहेको बताउदै उनलेे पाल्पाली ढाकाका अलावा नेपाली जुत्ता चप्पलकाे बजार पनि राम्रो हुनसक्ने उनको विश्वास छ ।
उता धनगढी उपमहानगरपालिका वडा नं १४ मा सामान्य हवाई चप्पल उद्योग सञ्चालन गर्दै आएकी सञ्जिता रानामगर थप नयाँ डिजाइनका जुत्ता चप्पल बनाउन सिक्न बुटवल आएको बताइन् ।
आफुले जानेको हवाई चप्पल बनाउन सिकाउने र थप नयाँ जुत्ता चप्पल बनाउन सिक्ने उदेश्यले यहाँ आएको उनको भनाइ छ ।
त्यस्तै कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं ५ चन्द्राैटामा ब्युटिपार्लर ब्यवसाय सञ्चालन गर्दै आएकी जुली चाैधरी पनि अहिले गुरूङकाे एसपी हेन्डमेड स्लिपर उद्योगमा तालिम लिन ब्यस्त छिन् ।
ब्युटिपार्लर ब्यवसायका अलावा फुर्सदको समयमा जुत्ता चप्पल बनाएर थप आम्दानी गर्ने उदेश्यले तालिम लिन आएको उनलेे बताइन् ।
तीन बर्ष अघि बुटवल उपमहानगरपालिकाले दिएको एकहप्ते तालिमबाट प्राप्त सीपको उपयोग गरि गुरूङ महिला उद्यमीकाे परिचय बनाउनुका साथै उनको सीप स्वदेशमा मात्रै नभएर तेस्रो मुलुकसम्म बिस्तार हुने क्रममा छ ।
सामाजिक सञ्जाल केवल मनाेरञ्जनकाे माध्यम मात्रै आयआर्जनकाे माध्यम पनि हो भन्ने यो एक ज्वलन्त उदाहरण हो ।






