बुटवल,९ साउन ।
राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको आराेपमा अदालतमा मुद्दा दायर गरेको छ ।

उनिहरू बिरूद्व ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग पत्र दर्ता भएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोग पत्रमा उल्लेख छ ।

विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु। ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु। ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु। २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु। ४ करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको पाइएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।