झण्डै १८ करोड जरिवाना अशुल
बुटवल,४ साउन ।
लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परि ५०६ जनाको मृत्यु भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनामा परि ४९६ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा ५०६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
जुन अघिल्लो वर्षभन्दा ९ जना बढी हो । गत वर्ष दुर्घटनामा परी ५ हजार ६९१ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरि उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँच र कारबाहीलाई तीव्र बनाई रहँदा सवारीसाधन दुर्घटनाका घटनामा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १२० सवारीसाधन दुर्घटना भएकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा भने ३ हजार ४७९ वटा सवारीसाधन दुर्घटनामा परेकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्यांकमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्यांक समेत समावेश गरिएकोले संख्या बढी देखिएको उनको दाबी ।
लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनबाट १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना संकलन भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना संकलन भएको कार्यालयकाे तथ्यांकमा उल्लेख छ ।
संकलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्ने सवारीसाधनबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१/०८२ मा जरिवाना रकम बढी संकलन भएको थियो । सवारी नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारीसाधनको संख्या भने अघिल्लो आर्थिक वर्षमा भन्दा ६३ हजार १६ ले कमी हो ।
आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।
अघिल्ला वर्षहरूमा एउटै सवारीसाधन गन्तव्यमा नपुग्दासम्म दोहोरो तेहेरो चेकप्वाइन्टमा कारबाहीमा पर्ने गरेकोमा पछिल्लो समय एउटा चेकप्वाइन्टमा कारबाहीमा परेको सवारीसाधनलाई गन्तव्यमा नपुग्दासम्म अर्को चेकप्वाईन्टमा कारबाही गर्न रोकिएपछि सवारीसाधनको संख्या कमी देखिएको प्रहरी उपरीक्षक शर्माले बताए ।
शर्माका अनुसार सवारीसाधनको संख्यामा कमी देखिए पनि जरिवाना दस्तुर बढेका कारण जरिवाना रकम भने बढी संकलन भएको छ ।
सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४४१ वटा सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन भएको छ ।
रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही मार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ जरिवाना संकलन भएको हो ।
बाँकेमा कारबाहीमा परेका ३७ हजार ४३५ वटा सवारीसाधनबाट ३ करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट २ करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट १ करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा ८ हजार ३ सय सवारीसाधनबाट १ करोड ६ लाख ९ हजार जरिवाना संकलन भएको छ ।
त्यस्तै, बर्दियामा १२ हजार ३७८ सवारीसाधनबाट ९५ लाख ७० हजार, पाल्पामा ६ हजार १६८ वटा सवारीसाधनबाट ७३ लाख ५१ हजार ४५०, प्युठानमा ४ हजार ४९१ सवारीसाधनबाट ५२ लाख ६५ हजार र रोल्पामा ४ हजार ३५२ सवारीसाधनबाट ५१ लाख ७ हजार ९४० रुपैयाँ जरिवाना संकलन भएको छ ।
त्यसैगरी गुल्मीमा ५ हजार ३७८ वटा सवारीसाधनबाट ४४ लाख ३० हजार ५ सय, अर्घाखाँचीमा ३ हजार ६३ सवारीसाधनबाट ४२ लाख ३० हजार र रुकुम पूर्वमा २ हजार ९२३ वटा सवारीसाधनबाट ३२ लाख ३३ हजार रुपैयाँ जरिवाना संकलन भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
त्यस्तै यातायात कार्यालय मार्फत गरिएको जाँचको क्रममा कारबाहीमा परेका २७३ वटा सवारीसाधनबाट ३८ लाख ८५ हजार ८४५ रुपैयाँ जरिवाना संकलन भएको छ । ८४ लाख ९ हजार रुपैयाँ उठ्न बाँकी रहेको शर्माले बताए ।








