बुटवल,३ असार ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा
अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलामा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भएको छ ।
झण्डै ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुबिधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गर्न सकिने छ ।
डिपिआर पश्चात गणेशटोलमा रहेको सो जग्गाको भोगाधिकारको प्रकृया शुरु भएको र अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलको लागि आवश्यक जग्गा प्राप्ती पश्चात भौतिक पुर्वाधार निर्माणका काम शुरुहुने तामनगर ब्याडमिन्टन क्लवले जनाएको छ ।
यसका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरि प्रकृया अघि
बढाइएको र यसबर्ष नै संघिय सरकारले अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलका लागि ३ करोड बजेट बिनियोजन गरेको क्लवका अध्यक्ष सुभाश कर्माचार्यले बताए ।
आज तामनगरमा आयोजित क्लवको आठौं साधारण सभा तथा चौथो अधिबेशनमा बोल्दै अध्यक्ष कर्माचार्यले सो कुरा बताउनु भएको हो । यसअघि पनि बुटवल उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा केही पुर्वाचार निर्माणको
कामहरु भएको जानकारी गराउँदै अध्यक्ष कर्माचार्यले यसपटक बिशेष महत्वका साथ बजेट बिनियोजन गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलप्रति आभारसहित प्रकट गरे ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै वडाध्यक्ष डिल्ली प्रसाद शर्माले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघिय सरकार सबैको सहयोगबाट यो परियोजना सम्पन्न हुने बिश्वास ब्यक्त गरे । उहाँले ब्याडमिन्टन हल
निर्माण हुने स्थलमा निकट भविष्यमा जग्गाको नापजाँच हुने आवश्यक प्राबिधिक तयारी भैरहेको जानकारी गराए ।
पुर्ब वडा अध्यक्ष दुर्गाप्रसाद सुबेदीले सम्पुर्ण वडाबासीका लागि गौरवको योजनाका रुपमा रहेको यो परियोजनालाई सफल बनाउन जुनसुकै परिस्थिती र चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
भुपु सैनिक कल्याणकारी क्लव तामनगरका अध्यक्ष पुरन बहादुर शाहीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउदै सबैलाई सक्रिय भएर लाग्न सुझाव दिए । ब्याडमिन्टन क्लवका पुर्व अध्यक्ष बालकृष्ण पौडेलले परियोजना सफल बनाउन राजनैतिक,
सामाजिक, ब्यक्तिगत सबै प्रकारले सहयोग गर्न राजनैतिक दल, समाजसेवी,बुद्धिजिवी,पत्रकार सबैलाई आग्रह गरे ।
पुर्व अध्यक्ष मधु पुलामीमगरले सबैले तन मन धनले सहयोग गरेर बिगतमा जस्तो बजेट फ्रिज हुने अवस्था नआउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
यसैबिच आज सम्पन्न साधारण सभाले बुटवल १२ का बिभिन्न स्थानमा रहेका ५ वटा क्लवहरुलाई एकैठाउ मर्ज गरेर एउटै बृहत क्लव बनाउने उद्देश्यका साथ ति क्लवहरुसँग संवाद गर्ने र गाभ्ने बिषयमा छलफल गरि टुंगो लगाउने निर्णय गरेको जनाइएको छ ।








