दाङ,३२ असार ।
लुम्बिनी प्रदेश सरकारले नेपाल प्रहरीलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।
राप्ती उपत्यका (देउखुरी) मा बुधबार एक कार्यक्रमकाबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्ने उपकरण हस्तान्तरण गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीमा सवारीसाधनको नम्बर प्लेट चिन्न सक्ने क्यामरा लगायत अत्याधुनिक उपकरण रहेका छन् । जसअन्तर्गत चार थान नम्बर प्लेट चिन्ने क्यामेरा, चार थान कृत्रिम बौद्धिकता (एआई) क्यामेरा, दुई थान भिडियो रेकर्ड गर्ने यन्त्र (एनभीआर), दुई थान मोनिटर, रातको समयमा दृश्य स्पष्ट देखिने चार थान बत्ती र चार थान फलामका पोल रहेका छन् ।
यसैगरी १ हजार मिटर अप्टिकल फाइबर, चार थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच, दुई थान फाइबर मोड्युल स्विच, दुई थान पोल यूपीएस र दुई थान ब्याट्रीसहित यूपीएससहित एक थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सुरक्षाको थप मजबुतीका लागि प्रयोग गरिने दुई थान ड्रोन क्यामेरा, जसमा २६५ जीबीको एसडी कार्डसमेत समावेश गरिएको जनाइएको छ । त्यसैगरी, व्यक्तिहरूको प्रवेश निगरानी गर्न प्रयोग हुने दुई थान वाकथ्रु गेट र त्यससँगै दुई थान एभीआरसमेत प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको मन्त्री अग्रवालले बताए । सुरक्षाका क्षेत्रमा प्रदेश सरकारले गरिरहेको लगानीले अपराध नियन्त्रण, सडक सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उनलेे विश्वास व्यक्त गरे ।
साे अवसरमा प्रहरी नायव महानिरीक्षक भट्टले प्राप्त उपकरणहरूलाई सुरक्षाका विभिन्न गतिविधिमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।






