बुटवल,२३ माघ ।
बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चाेकसहित मुख्य चोकहरुमा दाेस्राे चरणको हाईमास्ट लाईट जडानको काम सुरु गरेको छ ।
आज बिहान बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले दाेस्राे चरणको हाइमास्ट लाईट जडान कार्यकाे शिलान्यास गरेका हुन् ।
त्यस अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो,सुरक्षित र सुन्दर शहरको रूपमा विकास गर्ने योजना अनुरूप बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि मुख्य चोकहरुमा हाईमास्ट लाईट जडानको काम सुरु गरेको बताए ।
गत आर्थिक वर्षमा २३ स्थानमा हाईमास्ट लाईट जडान गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोश्रो चरणमा १७ स्थानमा हाइमास्ट लाईट जडान गरिने मेयर पाण्डेयले जानकारी दिए ।
बुटवलको राजमार्ग चाैराह-गाेलपार्क-चिडियाखाेला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चाेकहरूमा जडान हुने हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल साच्चिकै उज्यालो र सुरक्षित शहरको रूपमा पहिचान बनाउने विश्वास ब्यक्त गरे ।
हाइमास्ट लाइटसँगै बुटवल उपमहानगरपालिकाले डिजिटल विज्ञापन बाेर्डस् फ्लाग मास्ट लाइट समेत जडान कार्य सुरु गरेको छ ।
डिजिटल विज्ञापन बाट उठेको रकमबाट हाइमास्ट लाइट तथा स्ट्रिट लाइटकाे महसुल तिर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवि अर्यालले बताइन् ।
दाेस्राे चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बाेर्ड जडानका लागि बुटवल उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रूपयाँमा त्रिसन्ध्या-सेफ स्टील्स जेभीसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।