काठमाडौं,९ असार ।
आइसिसी विश्वकपअन्तर्गत सुपर एटमा भारतले लगातार दोस्रो जित हात पारेकाे छ ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सकेकाे थियाे ।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे । तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

भारतका हार्दिक पाण्ड्याले अविजित रहँदै सर्वाधिक ५० रन बनाए। २७ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे । विराट कोहली ३७, ऋषभ पन्त ३६, शिवम दुबे ३४ र कप्तान रोहित शर्मा २३ रनमा आउट हुँदा अक्षर पटेल तीन रनमा अविजित रहे ।

बंगलादेशका तनवीम हसन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिए । शाकिब अल हसनको नाममा एक विकेट रह्यो ।