कपिलवस्तु,५ बैशाख ।
कपिलवस्तु नगरपालिकाकि उपमेयर सुनिता गुप्ता बिरूद्व अभद्र व्यवहार सम्बन्धि मुद्दा परेको छ ।
बुधबार आयोजित १५ औं नगरसभामा मेयर तथा नगरसभा सदस्यमाथि अभद्र व्यवहार गरेको भन्दै गुप्तालाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो ।
उनी बिरूद्व नगरपालिकाका ८ जना वडाध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले उजुरी दिएका हुन् ।
निवेदकले दिएको उजुरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनाबारे आवश्यक प्रमाण संकलन, कार्यक्रममा उपस्थित भएकासँग सोधपुछ र जानकारी लिने काम भइरहेको उनले बताए ।
रोस्ट्रममा बोल्दाबोल्दै उपमेयर गुप्ताले मेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीलाई आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरी भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएकी थिइन् । उनले चप्पल निकालेर प्रहार गर्ने प्रयास समेत गरेको बताइएको छ ।
कार्यपालिका सदस्यले उनलाई सभाहलबाट बाहिर निकालेपछि घटना सामसुम भएको थियो । मेयर सुदीप पौडेलले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । मेयर र उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।








