दाङ,५ बैशाख ।
लुम्बिनी प्रदेश सभामा नवनिर्वाचित विषयगत समितीका सभापतिहरूले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् ।
उनिहरूलाई बुधबार लुम्बिनी प्रदेशसभा सचिवालयमा सभामुख तुलाराम घर्तीले सपथ ग्रहण गराएका हुन् ।

लुम्बिनी प्रदेश सभाका ६ वटा विषयगत समिती र १ विषेशाधिकार समिती गरी ७ वटा समितीका सभापतिहरू मंगलबार निर्बिराेध निर्वाचित भएका थिए ।

दलहरुकाबीच सहमति गरी विषयगत समितीको सभापति निर्बिराेध निर्वाचित भएका थिए ।

सहमति अनुसार प्रदेश मामिला तथा कानुन समितिकाे सभापतिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिकाे सभापतिमा गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिकाे सभापतिमा नबलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिकाे सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २(२) का सांसद रामजीप्रसाद घिमिरे चयन भएका छन् ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिकाे सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिकाे सभापतिमा बाँकेकी सांसद माया पुन र विशेष अधिकार समितीकाे सभापतिमा कपिलबस्तुका सांसद गिरीधारीलाल न्यापाने रहेका छन् ।

६ वटा विषयगत समिती भएपनि दलहरुले छलफल गरी विशेषा धिकार समितीको माग भएकाले साे समितिका व्यवस्था गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यता सभापतिहरूले सपथ ग्रहण गरेसंगै आजै पदभार ग्रहण समेत गरेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै बिषयगत समितीका सभापतिहरूले अब संसदकाे कामलाई थप प्रभावकारी बनाउनुका साथै सरकारकाे कामकाे अनुगमनलाई तीब्रता दिने बताए ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेश सभाकाे विषयगत समितीमा दलहरुबीच एमालेले विषेशअधिकार सहित ३ वटा समिती, प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले २ वटा र माओवादी केन्द्रले २ वटा समितीको नेतृत्व गर्ने सहमतिमा सभापति चयन गरिएकाे थियाे । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितीमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितीको सभापतिहरू भने १७ महिनापछि मंगलबार मात्रै चयन भएको हो ।

२०७९ मंसिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिदा पनि मिनी संसदको रुपमा हेरिने विषयगत समितीको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरु विजिनेस बिहिन जस्तै भएका थिए ।