बुटवल,४ बैशाख ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका तीन जनाको बयान सकिएको छ ।

पक्राउ गरेका सहकारीका अध्यक्ष ओम गुरुङ, सहकारीका पूर्व सचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक दुर्गा चापागाईँको बयान सकिएको जिल्ला अदालत रुपन्देहीमा सूचना अधिकारी अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए

उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै अदालतमा बयान लिइएको हो । भोलि बुधबार सार्वजनिक बिदा भएकोले पक्राउ परेका अन्य तीन जनाको बयान भने पर्सीमात्र लिइने उनको भनाई छ । साे प्रकरणमा निता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङलाई पक्राउ परेका छन् ।

सोमबार ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाउदै १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको दाबी गरिएको छ ।

तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोही आधार मुद्दा दायर गरिएको हो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेसमेतको नाम उल्खेख छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा करोडौँ रुपैयाँ आएको देखिन्छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा गृहमन्त्रीलाई भने प्रतिवादी बनाएको छैन । ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण बापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको देखिन्छ ।