बुटवल,४ बैशाख ।
बुटवल उपमहानगरपालिकाले बैज्ञानिक महाबिर पुनद्वारा लिखित एक लाख मुल्य बराबरको किताब खरिद गरेको छ ।
बिरगंजकाे कृषि औजार कारखाना पुनः सञ्चालनकाे जिम्मेवारी लिएको पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग स्वरूप उपमहानगरपालिकाले किताब खरिद गरेको हो ।
मंगलबार बुटवल उपमहानगरपालिकामा आयाेजित एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेले कृषि औजार कारखाना पुनः सञ्चालनका लागि सहयोग पुगाेस् भन्ने उदेश्यले एक लाख मुल्य बराबरको किताब खरिद गरिदिएको बताए ।
बुटवल उपमहानगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख पाण्डेले नगर भित्र आवश्यक पर्ने कृषि औजार साेहि कारखानाबाट उत्पादन भएका पाएसम्म अन्यत्रबाट खरिद नगर्ने नीति लिन सकिने उल्लेख गरे ।
उपप्रमुख साबित्रादेवी अर्यालले बन्द रहेको कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने राष्ट्रिय आविष्कार केन्द्रकाे अभियानलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्नेमा जाेड दिदै सबै पालिकामा पुग्न आविष्कार केन्द्रलाई आग्रह गरिन् ।
कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनले सरकारले नै बन्द रहेको कारखाना तपाईंहरूले चलाइदिनुिस भनेका कारण राष्ट्रिय आविस्कार केन्द्रले सञ्चालनकाे जिम्मेवारी लिएको भन्दै सरकारले सहमति पालना नगर्दा किताब बेच्ने अभियान चलाउनु परेको गुनासो गरे ।
सरकारसँगकाे सहमतिपछि ११ महिनामा १ करोड २५ लाख खर्च गरेर कारखानाकाे मर्मत गरेर उत्पादन गर्न सक्ने बनाए पनि सरकारले उक्त रकम नदिएको उनको गुनासो छ ।
७० प्रतिशत किसान भएको मुलुकमा कृषि औजार कारखाना सञ्चालनमा सरकारले बेवास्ता गर्नु उपयुुक्त नभएको भन्दै उनलेे जसरी पनि कारखाना चलाएर देखाइदिने दृढता ब्यक्त गरे ।
१ प्रतिशत नेपाली (तीन लाख) लाई किताब बेच्ने योजना रहेको सुनाउदै पुनले सय दिनमा रूपन्देहीसहित २८ जिल्लामा
८३ हजार किताब बिक्री भइसकेकाे जानकारी गराए ।
बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गरेर किसानलाई सहुलियत रूपमा आधुनिक उपकरण उपलब्ध गराई उत्पादन बृद्वि गर्ने, किताब मार्फत युवाहरूकाे साेचाईमा सकारात्मक परिवर्तन ल्याउन र आफ्नो देशका लागि केही भए पनि याेगदान गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उदेश्य किताब बेच्ने अभियान चलाएको उनको भनाइ थियो ।