Share this News on Social Networking Pages

बुटवल,४ वैशाख ।
सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै सुप्रिम सहकारीका बचतकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ न रबी दाइ’,‘जीबी राई कहाँ छ ? रबी दाईलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए ।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए ।

अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भएपनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए ।

सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलले आरोप लगाए ।

अर्का सहकारी पीडित देवीलाल भट्टराईले जीबी राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरु नष्ट हुनसक्ने भएकाले राईको सुरक्षा र पक्राउलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी अनुसन्धानअनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिएको छ ।

२ करोड ऋणबापत ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको प्रहरीले पुष्टि गरेको छ । लामिछाने हालसम्म पनि सुप्रिम सहकारीको ऋणी रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दुई करोड ऋणको किस्ता दुई पटक तिरिएको तर दुवै पटक सुप्रिम सहकारीकै बचत प्रयोग गरिएको प्रतिवेदनमा छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् ।

पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको छ ।