काठमाडौँ,२ असार ।
नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश तथा लिंकप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा व्हाट्सएप जस्ता ओभर द टप एपमार्फत प्रयोगकर्ताको मोबाइल नम्बरमा फिसिङ्ग लिंकसहितका निर्देशनात्मक सन्देशहरू पठाउने घटनाबारे गुनासो बढेको भन्दै प्राधिकरणले त्यस्ता लिंकप्रति सचेत रहन आग्रह गरेको हो ।

यस्ता लिंकहरू वास्तविक जस्तै देखिने भएकाले प्रयोगकर्तामा भ्रम सिर्जना हुने र ती लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुने, अनधिकृत पहुँच हुने तथा वित्तीय ठगीजस्ता साइबर अपराध हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्ता शंकास्पद सन्देश वा लिंकहरू नखोल्न, क्लिक नगर्न र प्रयोग नगर्न सबै उपभोक्तालाई हार्दिक आग्रह गरेको छ ।

यस प्रकारका गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद सन्देश प्राप्त भएमा सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।