काठमाडौँ,२ असार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।
राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा अर्याल पनि पक्राउ परेका हुन् ।
यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो । कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने कार्यालयमा बयान दिन आउने जाने चलिरहने भएकाले आज को-को बयान दिन आएका छन् भन्ने जानकारी नभएको प्रतिक्रिया दिए ।
‘अनुसन्धानका क्रममा रहेका सबै विषय हामीलाई जानकारी हुँदैन । यहाँ बयान दिन आउने जाने क्रम चलिरहन्छ। आज को-को बयान दिन आएका छन् ककसको बयान भइरहेको छ भन्ने जानकारीमा छैन । अनुसन्धान भइरहेको विषय हामीले भन्न पनि मिल्दैन’, न्यौपानेले भने ।






