काठमाडौँ,२ असार ।
आज तराईका जिल्लाकाे तापक्रम ४० डिग्रीसम्म पुग्ने तथा काठमाडौँसहित पहाडी भेगमा वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार लागि देशका विभिन्न सहरको मौसम पूर्वानुमान आज देशभरको मौसम मिश्रित रहनेछ । तराईका सहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी तथा हिमाली भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

आज दिउँसो विशेषगरी पश्चिम तथा मध्य तराईका सहरहरूमा अत्यधिक गर्मी महसुस हुनेछ । मौसम पूर्वानुमानअनुसार धनगढी र नेपालगञ्जमा आज तातो दिन रहनेछ । यी दुवै सहरको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यसैगरी, भैरहवाको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री र सिमराको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहनेछ । अत्यधिक गर्मी हुने यी तराईका सहरहरूमा आज वर्षाको कुनै सम्भावना नरहेको पूर्वानुमानमा उल्लेख छ ।

अर्कोतर्फ, पहाडी भेगका सहरहरूमा भने वर्षाको सम्भावना रहेको छ। पोखरा र ताप्लेजुङमा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । पोखराको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहनेछ भने वर्षाको सम्भावना ६० प्रतिशत छ ।

ताप्लेजुङमा पनि ६० प्रतिशत नै वर्षाको सम्भावना रहेको छ । सङ्घीय राजधानी काठमाडौँमा आज दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने अनुमान छ । काठमाडौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने र वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ ।

यसैगरी विराटनगर र जिरीमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। डडेल्धुरा, दिपायल, जुम्ला, ओखलढुङ्गा, धनकुटा, जोमसोम र धरानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । यी स्थानहरूमा वर्षाको सम्भावना २० देखि ४० प्रतिशतसम्म रहेको छ ।

वीरेन्द्रनगर, घोराही र जनकपुरमा भने आज दिउँसो पानी पर्ने सम्भावना छैन । यी सहरहरूमा आंशिक रूपमा बादल लाग्नेछ भने तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियसको आसपास रहनेछ ।

आज रातिको मौसम पनि ठाउँअनुसार फरक रहनेछ। दिउँसो अत्यधिक गर्मी हुने धनगढी, नेपालगञ्ज, वीरेन्द्रनगर र भैरहवाको आकाश राति मुख्यतया सफा रहनेछ र वर्षा हुने छैन । तर, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान र ताप्लेजुङमा भने रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना ३० देखि ४० प्रतिशतसम्म रहेको छ ।

रातिको समयमा हिमाली तथा उच्च पहाडी सहरहरूमा निकै चिसो महसुस हुनेछ। पूर्वानुमानअनुसार आज राति सबैभन्दा कम तापक्रम जोमसोममा ९ देखि ११ डिग्री सेल्सियसको बिचमा झर्नेछ । त्यस्तै जुम्लाको न्यूनतम तापक्रम ११ देखि १३ डिग्री र जिरीको न्यूनतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस रहनेछ । काठमाडौँको न्यूनतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।