बुटवल,२ बैशाख ।
सहकारी ठगी प्रकरणमा प्रहरीले जिबी राईसहित २८ जना प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए ।
प्रहरीले ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलकाे कार्यालयलाई राय दिएको छ । उनिहरू बिरूद्व १ अर्ब २ करोड मागदाबी लिई मुद्दा दर्ता गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको एसपी राठौरले बताए ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका थिए ।
उनिहरू बिरूद्व १ हजार ८३१ जना सुप्रिम पिडितहरूले सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।
पिडितहरूकाे उजुरीकाे आधारमा ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।






