काठमाडौँ,२ बैशाख ।
संघीय संसद्को चालु अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् ।
आज बसेकाे प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गर्द आजै राति १२ बजेदेखि स्वतः अन्त्य हुने सदनलाई जानकारी गराए ।
प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको दोस्रो अधिवेशनभन्दा तेस्रो अधिवेशन कानुन निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको बताए । उनले राजनीतिक दलहरूलाई कानुन निर्माणमा संसद्लाई क्रियाशील बनाउनुपर्नेमा जाेड दिए ।









