बुटवल,२८ चैत ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भन्दै सभापति देउवाले शहिदहरूलाई सबैले त्यसैगरी बुझ्नुपर्नेमा जोड दिए ।

तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गदै देश र जनताका लागि काम गर्ने क्रममा अपराधीवाट मारिएका शहिदहरुको सम्मान हुन नसकेको धारणा राखे । उनले अपराधीको जती नै निन्दा गरेपनि नपुग्ने समेत बताए । शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पुरा गरेरै छाडने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूर्रो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुराएको योगदानको संम्झना गदै उहांलाई जती सम्मान गरे पनि कमी हुने बताए ।

शहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडी सारेका चाहना र आंकाक्षा पुरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन् ।

त्यस्तै सभापति देउवाले नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गरे । उनले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए ।