काठमाण्डौ,२४ चैत ।
शिक्षा मन्त्रालयले कर्मचारीको कामको आधारमा सरुवा गर्ने गरी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्डअनुसार मन्त्रालय र मातहतका निकायमा कार्यरत उत्कृष्ट काम गर्ने कर्मचारीलाई सुगम स्थान तथा रुचाएको ठाउँमा सरुवा, पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिइनेछ ।
अपाङ्गता भएका, दीर्घरोग भएका कर्मचारीलाई सुगम भौगोलिक स्थानमा पदस्थापना, सरुवा वा काजमा ल्याउन सकिने मापदण्डमा उल्लेख छ । संघीय निजामती सेवामा रहेर जिल्लास्तरमा कार्यरत कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्र स्तरमा सरुवा वा काजमा नल्याउने प्रावधान राखिएको छ । केन्द्रस्तरमा पाँच वर्ष अवधि कार्यरत कर्मचारीलाई जिल्लास्तरका कार्यालयमा सरुवा गर्ने मापदण्डमा उल्लेख छ ।
एनओसी शाखामा एक वर्ष काम गरेका कर्मचारीले एक वर्ष काम गरेपछि रोजाईको आधारमा सरुवा गर्ने व्यवस्था पनि राखिएको छ । त्यस्तै सुरुको नियुक्क्ति वा बढुवा भएर आउने कर्मचारीलाई एनओसी, छात्रवृति र दुर्गम जिल्लामा पदस्थापन गर्ने प्रावधान नयाँ मापदण्डमा राखिएको छ । नयाँ मापदण्डअनुसार न्यूनतम तीन वर्ष सेवा अवधि पूरा भएका अधिकृतलाई इकाई प्रमुखमा खटाउने व्यवस्था गरिएको छ ।








