काठमाडौ,१९ चैत ।
नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच बैठकस्थलमै हात हालाहाल भएको छ ।

साेमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए ।

संस्थापकहरूको बैठक बसिरहेका बेला २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहालको स्थिति आएकाे उनकाे भनाइ छ ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन् ।