काठमाण्डौ,१३ चैत ।
भिसा अवधि सकिएपछि गैरकानुनी रुपले नेपालमा बसेका पाँच बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई अहिले काठमाण्डौ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास र ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उहाँकाअनुसार बङ्गलादेशी नागरिक फरक–फरक मितिमा नेपाल प्रबेश गरी गैरकानुनी रुपले बसोबास गरेका थिए । साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार विश्वास र मियाँ यही चैत ९ गते पक्राउ परेका थिए भने अन्य तीनजनालाई हिजो पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाएको प्रहरीले जनाएको छ ।








