काठमाडौँ,१० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन् । उनले देशमा भए या विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाए ।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई जहाँ भए पनि पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए ।

राईसँग टेलिभिजनमा मात्रै जोडिएको भन्दै उनलेे अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको दाबी गरे । लामिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए ।

‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ,’ उनले भने ।

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उनलेे बताए ।