लुम्बिनी,१० चैत ।
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणाली शुरू गरेको छ । अनललाईन टिकेटिङ प्रणालीको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाईन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास ब्यक्त गरेको काेषले जनाएको छ । इटिकेटिङले संस्थालाई पारदर्शी बनाउनुका साथै पर्यटकलाई सहयोग पुग्ने बताए । उनले लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुहरुलाई इटिकेटिङले आर्कषित गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाईन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या समेत बृद्धि गर्ने विश्वास गरे । उनले लामो लाईन लागेर टिकट लिनुपर्ने वाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए । उनले लुम्बिनी बौद्धमार्गीहरुको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उनले विश्वभरका बौद्धमार्गीहरु लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने बताए ।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकहरु लाईन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । नवनियुक्त मन्त्री तामाङ पहिलाे पटक लुम्बिनी आएको अवसरमा डिजिटल प्रणालीमा संस्थालाई लैजाने कार्यले सुशासन र पारदर्शीता कायम गर्नमा सहयोग पुग्ने कोषाध्यक्ष भट्टराईले बताए । मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाईन टिकेटिङले कोषको आम्दानीमा समेत बृद्धि हुने उनले बताए ।

लुम्बिनी विकास कोषको वेवसाईट डब्लु डब्लु डब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिने काेषले जनाएको छ । खासगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए ।

निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाईन टिकेट्स विकास गर्दै लगिने कोषको योजना रहेको छ । अवेकोड प्रा.ली.ले तयार पारेको अनलाईन टिकेट्सका लागि माछापुच्छ्रे बैंक पेमेन्ट पार्टनरका रुपमा रहेको छ । लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष बार्षिक १० लाख पर्यटक आएका थिए । कोभिडअघि २०१९ मा सबैभन्दा बढि १६ लाख बढि पर्यटक लुम्बिनी आएकाे काेषले जनाएको छ ।