कपिलवस्तु,७ चैत ।
लायन्स क्लब कपिलवस्तु प्राचीनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा झोला वितरण गरेको छ ।
सामुदायिक विद्यालयका गरीब विपन्न विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले उनिहरूलाई उक्त सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष राजेश ज्ञवालीले जानकारी दिए ।
विद्यार्थीहरूलाई आगामी दिनमा विद्यालय आउन प्रेरणा मिलोस् र पठनपाठनमा टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरेको अध्यक्ष ज्ञवालीले बताए । ज्ञवालीका अनुसार ब्यागलाई स्कूलमै वितरण गर्न प्रयास गरेपनि सबै स्कूलको वार्षिक परीक्षा चलिरहेको कारण केही असहज भएको छ ।
शैक्षिक सामग्री तथा स्कूल ब्याग बुद्धभूमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । प्रमुख श्रेष्ठले सबै स्कूलमा रहेका गरिब तथा विपन्न विद्यार्थीहरुको नाम सुची मगाएर छिटै ब्याग वितरण गर्ने जानकारी दिए । नगरपालिका भित्रका विपन्न बिद्यार्थीहरुलाई पाँचसय झोला वितरण गरिने तयारीमा रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
लायन्स क्लब कपिलवस्तु प्राचीनको आयोजनामा र बुद्धभूमि नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव प्रसाद नेपाल, वडा नम्बर २ का अध्यक्ष सुरज प्रताप राणा, वडा नम्बर ८ का अध्यक्ष कपिलदेव तिवारी, संस्थाका सचिव कस्तुरा सिग्देल, सहसचिव इन्दिरा देवकोटा, सदस्यहरु शिवशंकर कान्दु लगायतको सहभागिता रहेको थियो ।








