काठमाडौँ,६ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) गृहमन्त्री रबी लामिछाने र अर्थमन्त्री बर्षमान पुनलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै राजधानी काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

वर्तमान सरकारका मन्त्रीहरू काण्डै काण्डमा मुछिएको भन्दै बर्खास्तको मागसहित मसाल जुलुस निकालेको छ ।

सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै मसाल जुलुस निकालेको नेविसंघले जनाएको छ ।

पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनिले बताए ।

वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएकाले राजीनामाको माग गरिएको उनले बताए ।

‘वर्तमान सरकार काण्डै काण्डका नाइकेहरूको जथ्था भयो । तत्काल विभिन्न आरोप लागेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैको विरोध स्वरूप हामीले राके जुलुस निकालेका छौँ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

उनीहरूलाई बर्खास्त नगरिए निरन्तर आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ ।