बुटवल,४ चैत ।
जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आज बिहान ७ : ५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाइएको थियो ।

यसैबीच सभामुख देवराज घिमिरेले आइतबार सिभिल अस्पतालमा पुगेर परिवारजनमा शोक व्यक्त गरेका छन् । २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरूवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन् । उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन् ।