नवलपरासी, २ चैत ।
भ्रष्टाचार बिरूद्व ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले सरावल गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार संगठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीलाई ज्ञापन पत्र बुझाएको संगठनले जनाएको छ ।

भष्ट्रचारीलाई कारवाही गरेको भन्दै ‘कालोमोसो’ दल्ने उक्त संगठनले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सरावल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ । साथै, गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी भएको भन्दै खरिद ऐनलाई अक्षरशः पालना गर्न माग गरिएको छ ।

त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने,युवा तथा खेलकुदको क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने लगायतमा माग गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर संगठनका जिल्ला संयोजक तरुण श्रीस, पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज दुर्गा नारायण चौधरी, सहितको टोली सरावल गाउँपालिकाको कार्यालय पुगेको थियो ।

टोलीमा पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला संयोजक रवि पाण्डेय, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा लगायतको सहभागीता रहेको थियो । सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।

टोलीलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरु क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाए ।