काठमाडौँ,२ चैत ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाअनुसार प्रहरीले उनलाई आज अपरान्ह काठमाडौंकाे धापासीबाट पक्राउ गरेको हो ।
दिपेश पुनको चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।
सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीले बचत रकम हिनामिना गरेकाे थियो ।








