काठमाण्डौ,१ चैत ।
संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक गएको फागुन २१ गते
प्रतिनिधि सभामा दर्ता भएको थियो ।
प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए ।
त्यस क्रममा सांसद सुवालले उठाएका प्रश्नहरूको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले सङ्घीयता कार्यान्वयनका लागि यो विधेयक आवश्यक रहेको बताए ।
विधेयकले कर्मचारीलाई राजनीतिकरूपमा मुक्त बनाउने लगायतका उद्देश्य रहेको पनि उनले बताए । प्रशासनिक संघीयताकाे मूल कानुन निर्माणका लागि विधेयक तयार पारिएको हो ।
यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ सालको माघमा प्रतिनिधि सभामा दर्ता गरेको निजामती विधेयक फिर्ता भएपछि लामो समयको कसरतमा आज दोस्रो पटक दर्ता भएको हो । संघीयता कार्यान्वयनमा आएपछि निजामतीसम्बन्धी ऐन बन्न नसक्दा प्रशासनीक सङ्घीयता कार्यान्वयन हुन नसकेको आवाज उठ्दै आएको छ ।








