काठमाडौँ,२७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद बिस्तार गरेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री भएका छन् ।
आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीकाे सपथ लिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीकाे संख्या चार पुगेको हो ।

सत्ता गठबन्धनका दलहरूलाई मजबुत बनाउन चारजना उपप्रधानमन्त्री राखिएको हो ।

अघिल्लो वर्ष पुस १० मा प्रधानमन्त्री बनेपछि प्रचण्डले त्यसबेला विष्णु पौडल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री बनाएका थिए । त्यसपछि कांग्रेससँगको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुई जना मात्र उपप्रधानमन्त्री थिए ।

अहिले फेरि एमालेसहितको नयाँ गठबन्धन बनाएपछि चारजना उपप्रधानमन्त्री बनाइएको हो ।

हाल एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित रघुविर महासेठ, माओवादीबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित नारायणकाजी श्रेष्ठ, रास्वपाबाट गृहमन्त्रालयको जिम्मेवारीसहित रवि लामिछाने र जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका छन् । सरकारमा सहभागी भएको एकीकृत समाजवादी बाहेक सबै दलले एक-एक जना उपप्रधानमन्त्री पाएका छन् । अहिले बनेका चारै जना विगतमा पनि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।

गणितबाट चल्नु पर्ने भएपछि गठबन्धन मजबुत बनाउन धेरै उपप्रधानमन्त्री बनाउने परम्परा नै बसिसकेको छ । ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा ६ जनासम्म उपप्रधानमन्त्री बनाइएको थियो । त्यसबेलामा सबै पार्टीका वरिष्ठ नेताहरू सरकारमा जाने भएपछि ओलीले उपप्रधानमन्त्री बनाएका थिए ।

प्रचण्डले यसपटक पनि गठबन्धनलाई बलियो बनाउन सहजै सबै दललाई उपप्रधानमन्त्री बनाएका हुन् ।