काठमाण्डौ,२६ फागुन ।
महिलालाई भिजिट भिसामा यूएई पठाउने गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काएर उनीहरुलाई पठाउने एजेन्टलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको रुद्रपुरका भबिलाल थापा रहेका छन् ।
शंकास्पद रुपमा युएई पठाउन लागेको खुलेपछि महिलालाई फर्काएर एजेन्ट थापालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।
पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको एसएसपी शर्माले बताए । सजिलै काम पाइने प्रलोभनमा पारेर विदेश लगेर अलपत्र पार्ने गरेका घटनाहरू सार्वजनिक भएपछि प्रहरीले विमानस्थलमा हुने जाँचमा कडाइ गरेको छ ।
रुसी सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा युएई लगेर त्यहाँबाट रुस पठाएको अनुसन्धानबाट खुलेको थियो ।






