काठमाडौं,२५ फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वले आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भन्ने कामना गरेका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा शुभकामना स्वदेश जारी गर्दै राष्ट्रपति पाैडेलले महाशिवरात्रि पर्वले आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भन्ने कामना गरेका हुन् ।

शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भन्ने कामना गर्दै उनलेे देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वर्द्धन गर्न प्रण गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

‘पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौं उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु,’ सन्देशमा लेखिएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गरेका छन् ।

नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको भन्दै उनले मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभइ समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको राष्ट्रपति पौडेलको भनाइ छ ।